जनकपुर, १९ मंसिर । साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको आज(बुधवार) चौथो दिन ‘तिलकोत्सव’ विधि गरिएको छ ।
राम मन्दिरमा आयोजित ‘तिलकोत्सव’ समारोहमा भगवान श्रीरामलाई राजा जनकको प्रतिनिधित्व गर्दै जानकी मन्दिरका छोटा महन्त रामरोषण दास ‘वैष्णव’ले तिलक चढाएका छन ।
मिथिलामा बेहुला र बेहुली एकअर्को पक्षलाई मन परेपछि तिलक चढाउने परम्परा छ । सोही परम्परा अनुरुप त्रेतायुगमा जस्तै आज भगवान श्रीरामलाई तिलक चढाइएको छ ।
मिथिला परम्परा अनुसार बेहुली र बेहुला पक्षका महिलाले एक अर्कालाई गाली दिने चलन छ । यहाँ पनि महिलाहरु लोकगीत मार्फत् अयोध्याबाट आएका जन्तीहरुलाई गाली गरे ।
अयोध्या अर्थात् राजा दशरथको भूमिकामा राम मन्दिरका महन्त राम गिरी र राजा जनकको प्रतिनिधित्व गरेका जानकी मन्दिरका छोटा महन्त दासले सम्धी मिलन समेत गरेका छन् ।
विवाह पञ्चमी महोत्सवको पाँचौ दिन बिहिवार मटकोर र छैटौं दिन शुक्रवार विवाह (स्वयंवर) कार्यक्रम आयोजना गरिनेछ । शनिवार रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदा गरेपछि विवाह पञ्चमी विधिवत सम्पन्न हुन्छ ।