जनकपुर, ३० कार्तिक। आज नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, काठमाण्डौ र मैथिली विकास कोष जनकपुरधाम द्वारा संयुक्त रूपमा आयोजना गरिएको ६ दिने सामा चकेवा मूर्तिकला निर्माण कार्यशालाको समापन कार्यक्रम भव्यरूपमा सम्पन्न भयो।
समापन समारोहमा प्रमुख अतिथिका रूपमा मधेश प्रदेश सरकारका ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्री मा. शेष नारायण यादवज्यू उपस्थित भएका थिए।
कार्यक्रममा मन्त्री यादवले सामा चकेवा मूर्ति निर्माणमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै तिनीहरूको हौसला बढाएका छन्।
साथै, उनले लोप हुँदै गएको सामा चकेवा मूर्तिकला र यसका सांस्कृतिक महत्वको संरक्षण गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।
मन्त्री यादवले भने, “सामा चकेवा जस्ता पुराना कला र सांस्कृतिक परम्पराहरूको संरक्षण र विस्तार गर्न आवश्यक छ। यसलाई गाउँगाउँ र शहर-शहरसम्म पु¥याएर व्यवसायिक रूपले कलाकारलाई रोजगारसँग जोड्न हामी प्रतिबद्ध छौं।”
कार्यक्रममा मैथिली विकास कोषका अध्यक्ष र नेपाली कांग्रेस मधेश प्रदेश कार्य समिति सदस्य जीवनाथ चौधरी ज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
यस अवसरमा नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य मा. उदय शमशेर थापा ज्यू, नेका धनुषाका उपसभापति गणेश झा ज्यू, नेपाल ललितकला परिषद मूर्तिकला विभागका दिनेश्वर महतो ज्यू लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
मन्त्री यादवले यस कार्यशालामा समावेश भएका प्रशिक्षार्थीलाई कला र सांस्कृतिक धरोहरहरूको संरक्षणमा अझ बढी सक्रिय रहनका लागि प्रोत्साहित गर्दै प्रदेश सरकारसँग सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।