जनकपुर, १६ असार । मधेश प्रदेशमा सरकारी प्रणालीमा नै प्रवेश गरेर बजेटको रातो किताबमा जथाभावी योजना र बजेट राखेको खुलेको छ ।
अर्थमन्त्री भरतप्रसाद साहले मधेश प्रदेशसभामा पेश गरेको बजेटमा भन्दा फरक योजना र रकम उल्लेख गरेर रातो किताबमा धेरै योजनाहरु समावेश गरेको पाइएको छ ।
१ असारमा मधेश सरकारका अर्थमन्त्री भरतप्रसाद साहले अगामी आर्थिक वर्ष २०८१÷८२ का लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएका थिए ।
उनले तयार पारेको बजेट पुस्तिकामा भन्दा तीन अर्ब रुपैयाँ भन्दा बढीको योजना फरक परेको स्रोतले दाबी गरेको छ । प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणाली (पीएलएमबीआईएस) मा नै प्रवेश गरेर जथाभावी योजना र बजेट राखेको भन्दै सत्तारुढ र विपक्षी दलहरुले विरोध जनाएका छन् ।
कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपाल संसदीय दलका नेता सरोजकुमार यादव, लोसपा प्रमुख सचेतक रानीकुमारी तिवारी र राप्रपा संसदीय दलकी नेता कञ्चन बिच्छाले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
बजेटमा जथाभावी योजना समावेश भएको विषयमा सत्तारुढ दलहरुबीच पनि पटक पटक छलफल भएको छ । आन्तरिक छानबिन गरिरहेको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।