काठमान्डौँ, ३२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा ठूला पूर्वाधारको निर्माण सम्पन्न हुँदा आशाको सञ्चार प्रवाह गरेको बताएका छन् ।
हेटौंडा सबस्टेसन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ठुल्ठूला पूर्वाधार निर्माण सम्पन्न हुनुले देशमा मौलाएको गलत भाष्य र चर्चालाई तथ्य र तथ्याङ्कसहित निस्तेज तुल्याएको दाबी गरिएका छन ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘सबस्टेसनहरू निर्माण सम्पन्न भएसँगै ऊर्जा क्षेत्रको विकास र मुलुकको समृद्धितर्फको यात्रामा अर्को एउटा खुड्किलो थपिएको छ ।
उनले विद्युत् उत्पादन र खपत गर्ने उपभोक्ताबीच जोड्न सयौं किलोमिटर दूरीमा पूर्व–पश्चिम, उत्तर–दक्षिण प्रसारण र वितरण लाइनका पूर्वाधार संरचना विस्तार तथा सुदृढीकरणको काम तीब्र गतिमा भइरहेका बताएका छन ।
विगतमा आफ्नै नेतृत्वको सरकारले देशलाई लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यतिबेला सहरी क्षेत्रमा लोडसेडिङ थियो तर देशको आधाभन्दा बढी गाउँबस्तीहरू अँध्यारोमै थिए ।
वैकल्पिक ऊर्जासहित करिब ९९ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको छ ।’ आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरूपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्न कार्यहरू भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकका लागि सुनौला दिनहरू टाढा नरहेको दाबी गरे ।