काठमान्डौँ, ८ जेठ । परीक्षा अगावै प्रश्न पत्रको गोपनीयता भङ्ग गरेको आरोपमा प्रहरीले दुई शिक्षकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बागलुङ ग्वालीचौर–८ घर भइ ललितपुर उपमनपा–१८ बस्ने ३१ वर्षीय केशव घिमिरे र काठमाडौं–१६ वस्ने पाल्पाको रिब्दिकोट–३ का २४ वर्षीय विकास ज्ञवालीरहेको छ । राष्ट्रिय परीक्षा बोर्डबाट गत वैशाख १४–२६ मा कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो ।
परीक्षा चलिरहेकै बेला काठमाडौं जिल्लाका केही परीक्षा केन्द्रहरूमा परीक्षार्थीहरू, विभिन्न विद्यालयका शिक्षकहरू समेतले मोबाइल फोनको माध्यमबाट परीक्षाको गोपनीयता र मर्यादा भङ्ग हुने गरी प्रश्न पत्रहरू सामाजिक सञ्जालका माध्यमहरू ह्वाट्सएप, म्यासेन्जर, इन्स्टाग्राम, भाइबर लगायतमा सेयर गरेको खुलेको थियो ।
शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा कारबाहीका लागि काठमाडौं जिल्ला अदालतबाट प्रहरीले ५ दिनको हिरासत म्याद अनुमति लिएको छ ।