काठमाडौँ, २३ जेठ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मनसुनजन्य विपद्बाट ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुनसक्ने तथा १८ हजार घरपरिवारलाई मनसुनजन्य विपद्मा उद्धार र राहत दिनुपर्ने आङ्कलन रहेको जानकारी दिएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विपद् व्यवस्थापनका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टको स्थापना गरेको जानकारी दिएका छन ।
उनले आजबाट सुरु हुने गरी ११४९ नम्बरको टोल फ्रि नम्बरलाई असोज २९ गतेसम्मका लागि २४ घण्टा विपद् सम्बन्धी सूचना तथा जानकारी लिनका लागि खुला गरिएको पनि बताए ।
जसमा सबै सुरक्षा निकाय र विपद् व्यवस्थापनसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न मन्त्रालय र विभागका प्रथम श्रेणीका अधिकारीहरूले कार्य गर्नेछन् ।
कमान्ड पोस्टले मौसम पूर्वानुमानको जानकारी लिई, जोखिमको आङ्कलन गरी, प्रभावका आधारमा पूर्वतयारी र विपद्का घटनापछिको प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयन गर्न, गराउनका लागि वानस्टप सेन्टरको रूपमा संयोजनकारी भूमिका खेल्नेछ ।
कमान्ड पोस्टले आवश्यक पर्दा प्रत्यक्ष रूपमा गृहमन्त्री, गृह सचिव र प्रधानमन्त्रीसँग समेत समन्वय गर्न सक्ने गरी अधिकार सम्पन्न बनाइएको कुरा जानकारी गराउन चाहन्छु । आजबाट सुरु हुने गरी २४ घण्टा ११४९ नम्बरको टोल फ्रि नम्बरलाई असोज २९ गतेसम्मका लागि २४ घण्टा यस्ता सुचनाहरु लिन, दिनका लागि तैनाथ राखिएको छ ।














