वीरगन्ज, २३ जेठ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव अन्तिम समयमा आएर विश्वासको मत लिन तयार भएका छन् ।
विश्वासको मतसम्बन्धीको कार्यसूची सार्ने प्रस्ताव सभामुखको कार्यालयले अस्वीकार गरेपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने निर्णय गरेको जानाइएको छ ।
मुख्यमन्त्री यादवले आफूनिकट दलहरुसँग गरेको परामर्शपछि विश्वासको मत लिन तयार भएको कांग्रेसका प्रदेश सांसद श्याम पटेलले जानकारी दिए । विश्वासको मत पाउने सम्भावना न्यून भएपछि मुख्यमन्त्री यादवले सभामुखलाई बिरामी परेको भन्दै आज बिहान कार्यसूची सार्न निवेदन दिएका थिए ।
तर विपक्षी दल र सभामुखले उक्त प्रस्ताव अस्वीकार गरेको थियो । मुख्यमन्त्रीले विश्वासको मत सदनमा आउने बताएपछि सदन सुरु भएलगत्तै प्रक्रिया पूरा गरेर १० मिनेटका लागि सदनको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
जसपा, कांग्रेस, लोसपा र राप्रपाले संयुक्तरुपमा मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने सहमति जनाएका छन् ।














