रौतहट, ८ जेष्ठ । दुई वर्ष पहिले रौतहटमा एक जनाको अपहरण गरी हत्या गरेर भागेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहटको गौर नगरपालिका ३ का २७ वर्षीय रोहित कुमार जैसवाललाई अपहरण गरी हत्या गरेको आरोपमा गौर नगरपालिका ५ का ५८ वर्षीय राजु मिश्र पक्राउ परेका हुन् ।
२७ वर्षीय जैसवाललाई अपहरण गरी भारतको बैरगिनियामा लगि बन्धक बनाई हत्या गरेर शव जुटको बोरामा हालेर नन्दवारा पुल मुनि फालेका थिए ।
घटनापछि मिश्र भारततर्फ फरार भएका थिए । अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोमबार पक्राउ गरेर प्रहरीले अदालतमा बुझाएको छ ।
अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिनुभएको छ ।












