काठमाडौं, ७ जेष्ठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन् । सोमबार मतदानमा १५८ जना सहभागी रहेकोमा प्रधानमन्त्री दाहाललाई एक सय ५७ सांसदले मत दिएका हुन् ।
विश्वास मत दिन्न भन्नेमा एक मत परेको सभामुख देवराज घिमिरेले बताए । विपक्षमा शून्य मत रहेको सभामुख घिमिरेले जानकारी गराएका थिए ।
प्रतिनिधिसभाको यो कार्यकालमा प्रधानमन्त्री प्रचण्डले चौथौपटक विश्वासको मत प्राप्त गरेका हुन् । प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको विरोध र नाराबाजीबीच प्रधानमन्त्री दाहालले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए ।
बैठकमा अन्य विपक्षी दलहरुलेसमेत आशनबाट उभिएर विरोध जनाएका थिए । कांग्रेसका सांसदको वेल घेराउ र नाराबाजीबीच सभामुख घिमिरेले प्रधानमन्त्री दाहाललाई विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न अनुमति दिएका थिए ।
कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।














