जनकपुरधाम, २ जेष्ठ । मधेस प्रदेशको राजधानी जनकपुरधाम जाँदै गर्दा ढल्केबरबाट दक्षिण लागेपछि बीचमा चिटिक्क परेको बजार आउँछ, महेन्द्रनगर ।
झिलिमिली बिजुलीबत्ती अनि चिल्लो र फराकिलो सडक देखिने महेन्द्रनगर बजार हेर्दैमा व्यवस्थित छ । ढल्केबर–जनकपुर सडकको बिस्तार नहुँदै यहाँको सडक व्यवस्थित भइसकेको थियो । क्षीरेश्वरनाथ नगरपालिकामा पर्ने यो महेन्द्रनगर बजार धेरै पुरानो बजार होइन ।
जनकपुर र ढल्केबरको बीचमा विकसित यो बजार ढल्केबरभन्दा नयाँबजार हो । नयाँबजार भए पनि यसको आर्थिक तथा भौतिक प्रगति लोभलाग्दो छ । यसले अन्य क्षेत्रमा पनि निरन्तर प्रगति गरिरहेको छ ।
मध्यधनुषाको मुख्य व्यापारिक केन्द्रको रूपमा विकास गरिसकेको महेन्द्रनगर बजार क्षीरेश्वरनाथ नगरपालिकाको व्यापारिक केन्द्रको रूपमा विकसित भइरहेको छ । जनकपुरदेखि तथा पूर्वपश्चिम राजमार्गदेखि नजिकमा पर्ने भएकोले बसोबास तथा व्यापारका सबै दृष्टिले सहज भएकोले व्यावसायी तथा उपभोक्ताको लागि संगमस्थल बनेको छ महेन्द्रनगर ।
भारततिर जान पनि सजिलो र नेपालको जुनसुकै ठाउँका लागि पनि यातायात पाइने भएकोले महेन्द्रनगरले छोटो समयमा प्रगति गर्न सकेको हो । एउटा राम्रो बजार हुनका लागि आवश्यक पर्ने सबै सुविधा यहाँ उपलब्ध छन् ।
यातायात, स्वास्थ्य तथा भौतिक पूर्वाधार सबै सुविधाले पूर्ण रहेको महेन्द्रनगर बजारको प्रगति लोभलाग्दो रहेको छ । क्षीरेश्वरनाथ नगरपालिकाभित्र जानकी मेडिकल कलेज शिक्षण अस्पताल रहेको छ ।
क्षीनपा–२ रमदैया भवाडीमा रहेको जानकी मेडिकल कलेज शिक्षण अस्पतालले दैनिक सयौँलाई उपचार सेवादिने गरेको छ । एमबिबिएस पढाइ हुने गरेको यो एउटा प्रतिष्ठित शैक्षिक तथा स्वास्थ्य प्रतिष्ठानको रूपमा रहेको छ । मुख्य सहरको छेउमा कतिपय बजारलाई ठूला सहरको मिचाइमा पनि पर्छन् तर जनकपुरधामले महेन्द्रनगरलाई विस्तारमा सहयोग नै गरेको छ ।
जनकपुरधामले महेन्द्रनगरलाई कुन अर्थमा सहयोग गरेको छ भने जनकपुरधाम पुग्ने कतिपय पर्यटक रातिको बास महेन्द्रनगरमा नै आएर बस्न रुचाउँछन् । शान्त र रमणीय बजारको रूपमा रहेको महेन्द्रनगरमा व्यापारिक चहलपहलले यसलाई धनुषाको आकर्षक नगर बनाएको छ ।
सहरको सौन्दर्यीकरणमा पालिकाले ध्यान दिनुपर्यो ः विनयकुमार साह, उपाध्यक्ष
क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघ क्षीरेश्वरनाथ उद्योग वाणिज्य यस क्षेत्रको प्रवद्र्धनका लागि कसरी काम गर्दैछ ?
व्यापारी व्यवसायीका समस्या समाधानका लागि हामी सदैव सक्रिय रहन्छौँ । कोरोनाकालमा व्यापार बन्द भएको अवस्थामा घरबहाल कर माफ गरायौँ । यहाँको देखेर ढल्केबरमा पनि केही व्यापारीहरूले यो सुविधा पाए । यस्तै आगलागी भएको बेलामा पनि इन्स्योरेन्स आदिमा सहजीकरण गरी सहयोग गरेका थियौँ । आवश्यक परेको सबै किसिमको सहयोग संघले गरिरहेको हुन्छ ।
बजार विस्तार र अन्य सुविधाका लागि स्थानीय सरकारले केही गरेको छ कि ?
स्थानीय सरकारको काम वातावरण बनाइदिने हो । यहाँ के कस्तो सम्भावना छ, त्यसको खोजी गर्ने हो । बाहिरका व्यापारी तथा ग्राहक यहाँ कसरी आउन सक्छन् भन्नेतिर स्थानीय सरकारले सोच्ने हो । नगरपालिकाले बजारलाई सौन्दर्यीकरण गरिदिनुपर्छ, जसले व्यापार फस्टाउने अवसर पाउँछ ।
संघ, प्रदेश र स्थानीय सरकारले के गरिदिँदा यो ठाउँ अझ विकसित हुन्छ ?
अहिले त चारैतिर समस्यै समस्या छ । व्यापारीहरूले ऋण लिँदा स्थानीय तथा अन्य सरकारले सहजीकरण गरिदिनुपर्छ । ब्याज दर निश्चित गरिदिने वातावरण स्थानीय तथा अन्य सरकारले गरिदिँदा राम्रो हुन्छ । व्यापारीले लिने बेलामा ८ प्रतिशत व्याजदरमा लिएको ऋण आफैँ १२ प्रतिशत पुगिरहेको हुन्छ ।














