जनकपुरधाम, २४ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा गठित जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले मान्यता प्रदान गरेको छ ।
नयाँ दललाई दर्ता गर्ने निर्णय भएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले जानकारी दिनुभएको छ ।
राईसहित प्रतिनिधि सभाका ७ जना सांसदले दल दर्ताका लागि आइतबार आयोगमा निवेदन दिएका थिए । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार नै दलले मान्यता पाएको पाण्डेले बताए ।
उनका अनुसार, राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ र नियमावलीको नियम ५ बमोजिम दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखीकरण गर्ने निर्णय भएको छ ।
राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ र प्रचलित संघीय कानुन बमोजिमका प्रावधान पालना गर्ने सर्तमा दल दर्ता गरिएको पाण्डेले बताएका छन ।