काठमाडौं, १० चैत । रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ ।
उक्त हमलामा परी १४५ भन्दा बढी घाइत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । शुक्रबार राति मस्कोको पश्चिमी उपनगरमा रहेको भेटेरन रक ब्याण्डको कन्सर्ट हेर्न जम्मा भएका दर्शकहरूको भीडमा गोली हान्नुका साथै विस्फोटक पदार्थ प्रहार गरिएको बीबीसीले जनाएको छ ।
आक्रमणमा कम्तिमा पाँच बन्दुकधारीले स्वचालित हतियार प्रयोग गरेका थिए । समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी मानव अधिकार आयोगले यसलाई ‘आतंकवादी हमला’ भनेको छ । बीबीसी रसियाका सम्पादक स्टिभ रोजेनबर्गका अनुसार कन्सर्टअघि हलमा भेस बदलेर पुगेका हतियारधारीले अन्धाधुन्ध गोली प्रहार गर्न थालेपछि भागदौड मच्चिएको थियो ।
हमला गरिएको भवनमा आगलागी भएको र धेरै मानिस भित्र फसेको अनुमान गरिएको छ । घटनास्थलको बेसमेन्टबाट सुरक्षाकर्मीले करिब एक सय जनाको उद्धार गरेका छन् ।
कुनै समय इराक र सिरियामा नियन्त्रण खोज्ने कट्टरपन्थी समूह आईएसआईएलले आफ्नो टेलिग्राम च्यानलमा आक्रमणको जिम्मेवारी लिएको छ र बन्दुकधारीहरू भागेको बताएको छ। यद्यपि यो दाबीको स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको अलजजिराले जनाएको छ ।