विराटनगर, २ चैत । विराटनगरमा हत्या गरेर फालिएको अवस्थामा किशोरीको शव भेटिएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव विभत्स अवस्थामा भेटिएको छ ।
उनी नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स हुन् । डेरा बसेको घरको कोठामा हत्या गरेर शौचालयमा शव फालिएको अवस्थामा शव भेटिएको उनले बताए ।
सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पतालनजिक विराटनगर– ४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्थिइन् । उनी डेरा बस्न थालेको ३–४ महिना मात्रै भएको थियो ।
डेरा बसेको घरको कोठाभित्रको शौचालयमा आज दिउँसो शव फेला परेको छ । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट छ ।
उनीमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले बताएको छ । ‘शव एट्याच कोठाको शौचालय भित्र भेटिएको छ, हत्या शौचालयमा भएको हो कि कोठामा भन्ने विस्तृत रुपमा खुलेको छैन ।
उनले भने,’ परिवारका सदस्यलाई खबर गरेका छौं, आफन्त आइपुगेपछि थप विषय खुल्छ । हत्यामा संलग्नको खोजी भइरहेको उनले बताए ।
उनको हत्यामा प्रेमीको शंलग्नता भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।