जनकपुरधाम, १८ पुस । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउन प्रतिवद्ध रहेको बताए ।
अख्तियार दुरुपयोग अनुसंधान आयोगद्वारा बुधवार जनकपुरधाममा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्धन सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा उहाँले आफूले शपथ लिएसंगै प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिवद्धता व्यक्त गरेको स्मरण गराए ।
अनियमितताबारे कुनै अनुसन्धान गर्ने बेलामा हाम्रो सय प्रतिशत सहयोग रहनेछ, उनले भने, कुनै कुनै ठाउँमा गडबडी पनि भएको होला, छानबीन गरेर कारवाही गर्छौं ।
आगामी आर्थिक बर्षमा स–साना योजना र उपभोक्ता समितिमार्फत योजना संचालन नगरिने जानकारीसमेत मुख्यमन्त्री यादव दिए । आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले सामूहिक रुपमै सुशासन कÞायम हुनसक्ने बताउँदै सुशासनको पहिलो बिगुल संघ, प्रदेश र स्थानीय सरकारले फुक्नुपर्ने आवश्यकतामा जोड दिए ।
प्रमुख आयुक्त राईले नीतिगत निर्णय सम्पूर्ण समुदायलाई समेटने खालको हुनुपर्ने बताउंदै यसलाई परिभाषित गर्न पनि संघ सरकारलाई भनेको स्पष्ट पारे ।
सो अवसरमा अख्तियारका बर्दिबास प्रमुख रामबहादुर कुरुम्वांग तथा अख्तियारकै सहसचिव लक्ष्मी प्रसाद उपाध्यायले भ्रष्टाचार नियन्त्रण तथा सुशासनबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेशका मन्त्रीहरु, स्थानीय निकायका प्रमुख, उपप्रमुख, सरकारी कर्मचारी, पत्रकारहरुको उपस्थिति थियो ।