जनकपुरधाम, ४ असोज । शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित हुने भएको छ ।
सरकारले सदनमा लैजान तयारी गरेको विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू काठमाडौं पुगेर बुधबारदेखि आन्दोलन गर्न लगेको छ ।
विधेयकमा १८ बुँदे संशोधनको मागसहित आन्दोलनमा उत्रेका शिक्षक विद्यालय नफर्किने अडानमा छन् । जसले ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने बताएको छ ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन् । हिजो संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो ।
आजदेखि अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेका हुन् । आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाउने गरि व्यवस्था मिलाइएको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जनाएको छ ।
सरकारकै कारण काठमाडौँ आएर आन्दोलन गर्नुपरेको भन्दै विद्यार्थीहरूको पढाईमा कुनै समस्या नपार्ने उनले बताए । आन्दोलनको पहिलो दिन हिजो ७० हजारको हाराहारीमा शिक्षकहरु प्रदर्शनमा उत्रिएका थिए ।