जनकपुरधाम, १९ फागुन । १५ दिने मिथिला मध्यमा परिक्रमा आज धनुषाको औरही आइपुग्दै छ । ११ औँ बिश्रामस्थल धनुषाको सतोखरमा विश्रामपछि परिक्रमामा सहभागीहरु आज बिहानैदेखि औरहीका लागि प्रस्थान गरेका हुन् ।
धनुषाको मिथिला बिहारी नगरपालिकाको मिथिला बिहारी मन्दिरबाट झाँकी किर्तन र डोलासहित पदयात्रीहरु जनकपुरधामको हनुमान नगर आइपुग्छन् ।
त्यहाँबाट मिथिला मध्यमा परिक्रमाको औपचारिक रुपमा सुरुवात भएको थियो ।
परिक्रमा नेपालको धार्मिक ऐतिहासिक स्थलहरुको १ सय ७ र भारतको २६ किलोमिटर गरी जम्मा १ सय ३३ किलोमिटर भू–भागको यात्रा गर्नेछ ।
मध्यमा परिक्रमाको अन्तिम दिन जनकपुरधाम नगरको ५ किलोमिटर दुरीको परिक्रमा गरि सम्पन्न हुनेछ । अन्तगृह परिक्रमालाई पंचकोशी परिक्रमा समेत भन्ने गरिन्छ ।
मध्यमा परिक्रमामा सहभागी हुन नसकेका श्रद्धालुहरू अन्तगृह परिक्रमा गर्ने गर्छन । परिक्रमा समापन पश्चात मिथिलाञ्चल क्षेत्रमा भोलि पल्ट होलि खेल्ने परम्परा रहेको छ ।