काठमाडौं, १३ माघ । सरकारले थप ३ हजार जनालाई शहीद घोषणा गरेको र उनीहरुको नाम छिटै राजपत्रमा प्रकाशित गरिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले माओवादी जनयुद्धका क्रममा ज्यान गुमाएका तर शहीद घोषणा गर्न बाँकी रहेका करिव ३ हजार जनालाई पनि मन्त्रिपरिषदले शहीद घोषणा गरेको र राजपत्रमा प्रकाशित गर्ने प्रक्रिया अघि बढेको बताएका छन् ।
३ हजार छुट भएकाको शहीद घोषणा चाहिँ फेरि क्याबिनेटबाट निर्णय भइसकेको छ । गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ । र अब त्यो राजपत्रमा प्रकाशित गर्नका लागि अगाडि बढिसकेको छ’ प्रचण्डले भने ।
माओवादी जनयुद्धका क्रममा ज्यान गुमाउनेहरु अरु कोही शहीद घोषणा गर्न छुटेको भए तत्काल सम्बोधन गर्ने पनि उनले आश्वासन दिए ।
आफू तेस्रो पटक प्रधानमन्त्री भएपछि माओवादी जनयुद्ध र जनआन्दोलनका शहीदहरु नछुटुन् भनेर विशेष ध्यान दिएको पनि प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
‘अझै केही छुट भएको छ भने हामीले त्यो छुट भएको बाँकीको पनि लिस्टिङ गर्दैछौं । त्यसलाई पनि घोषणा गरिन्छ । म सबै शहीद र बेपत्ता परिवारका सदस्यहरुलाई पनि भन्न चाहन्छु–यो निर्णय आफैंमा सामान्य निर्णय होइन ।
यसले हाम्रा क्रान्तिलाई सम्मानित गरेको छ । युद्धलाई सम्मानित गरेको छ’, उनले भने । प्रधानमन्त्री प्रचण्डले माओवादी जनयुद्धमा बेपत्ता भएकाहरुको पनि योगदानलाई कदर गर्न सरकारले सक्दो पहल गरिरहेको बताएका छन् ।














