काठमाडौं, ११ मंसिर । चीन भ्रमण सकेर स्वदेश फर्किएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोलीले पार्टी सभापति रवि लामिछानेलाई भ्रमणबारे जानकारी गराएको छ।
भ्रमण टोलीका तर्फबाट महामन्त्री विपिनकुमार आचार्यले लामिछानेलाई चीनमा भएका उच्चस्तरीय राजनीतिक भेटघाट, अन्तरपार्टी संवाद र छलफलका विषयमा ब्रिफिङ गरेका हुन्।
चिनियाँ कम्युनिस्ट पार्टीका नेता ली शुलेईसहित विभिन्न तहका नेताहरूसँग दुई पार्टीबीचको सम्बन्ध, राजनीतिक विश्वास, सांगठनिक अनुभव आदानप्रदान, सुशासन र विकासमा सहकार्यका विषयमा छलफल भएको आचार्यले जानकारी गराए।
त्यसैगरी, चीनका उद्योग तथा व्यवसायको अवलोकन, विपद् व्यवस्थापन र नेपाल–चीन सहकार्यका सम्भावनाबारे भएका छलफलबारे पनि सभापति लामिछानेलाई जानकारी दिइएको थियो।
ब्रिफिङपछि लामिछानेले भ्रमणका क्रममा सिकेका अनुभव र भएका छलफललाई पार्टीभित्र तथा देशको विकासमा उपयोग गर्न निर्देशन दिएका छन्।
नोभेम्बर १५ देखि चीनका विभिन्न प्रान्त र सहरको भ्रमणमा गएको रास्वपाको २० सदस्यीय टोली बिहीबार राति स्वदेश फर्किएको थियो।














