जनकपुर, १० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले स्वतन्त्र पत्रकारिताबिना लोकतन्त्र बलियो हुन नसक्ने बताएका छन्।
मेची–महाकाली पदयात्राका क्रममा बिहीबार जनकपुरधाम पुगेका सिंहले सञ्चारगृहबाटै पत्रकार पक्राउ गरिएको सरकारी कदमप्रति असन्तुष्टि जनाउँदै त्यसको विरोध गरे।
उनले आफू लोकतन्त्र, मानव अधिकार, कानुनी शासन र प्रेस स्वतन्त्रताको पक्षमा प्रतिबद्ध रहेको बताए। प्रेस स्वतन्त्रता लोकतन्त्रको प्रमुख आधार भएको उनको भनाइ थियो।
सांसद सिंहले देशमा कुनै पनि प्रकारको द्वन्द्व उत्पन्न नहोस् भन्ने उद्देश्यले आफूले पदयात्रा गरिरहेको पनि स्पष्ट पारे। साथै, किसानले आफ्ना उत्पादनको उचित मूल्य समयमै पाउनुपर्नेमा उनले जोड दिए।














