काठमाडौं, ११ मंसिर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कर्मचारीहरू नयाँ अध्यादेश र नियमावलीको विरोधमा आन्दोलनमा उत्रिएका छन्।
शुक्रबार प्रतिष्ठान परिसरमा प्रदर्शन गर्दै कर्मचारीहरूले सरोकारवालासँग छलफल नगरी अध्यादेश र नियमावली ल्याइएको भन्दै आपत्ति जनाएका हुन्। उनीहरूले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नैतिक जिम्मेवारी लिँदै तत्काल राजीनामा दिनुपर्ने मागसमेत गरेका छन्।
प्रदर्शनमा सहभागी प्राविधिक अधिकृत समुन्द्र कँडेलले नयाँ अध्यादेश तथा नियमावली वैज्ञानिक र कर्मचारीमैत्री नभएको आरोप लगाए। सुधारका नाममा संस्थालाई कमजोर बनाउने र दक्ष जनशक्ति पलायन हुने अवस्था सिर्जना गर्न नहुने उनको भनाइ छ।
कर्मचारीहरूले अध्यादेश र नियमावली तत्काल खारेज गर्न, मन्त्रालय तथा मन्त्रीको हस्तक्षेप रोक्न र सरोकारवालाको सहभागितामा विज्ञानमैत्री नीति तथा कानुन निर्माण गर्न माग गरेका छन्। साथै, प्रतिष्ठानको नेतृत्व खुला प्रतिस्पर्धा र योग्यताका आधारमा चयन गर्नुपर्ने उनीहरूको माग छ।














