काठमाडौं, १० मंसिर । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। प्रहरीले अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरी उच्च स्रोतले अर्याल पक्राउ परेको पुष्टि गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार उनलाई भारतको कलकत्ताबाट पक्राउ गरी नेपाल ल्याइँदैछ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव हुँदा मलेसिया जाने श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क असुल्ने प्रणालीलाई निरन्तरता दिन सहजीकरण गरेको आरोप उनीमाथि छ। सोही प्रकरणमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिइएको थियो।
अर्याल २०८१ भदौमा मुख्यसचिव नियुक्त भएका थिए। करिब १५ महिना जिम्मेवारी सम्हालेपछि २०८२ मंसिरमा उमेर हदका कारण अवकाश पाएका थिए। यस प्रकरणमा पूर्वमन्त्रीदेखि उच्च सरकारी अधिकारीसम्म अनुसन्धानको दायरामा छन्।














