जनकपुरधाम, ६ मंसिर । त्रेतायुगमा भगवान् श्रीराम र माता सीताको विवाह भएको पौराणिक स्मृतिमा मनाइने ऐतिहासिक तथा धार्मिक पर्व सीताराम विवाह पञ्चमी महामहोत्सव यस वर्ष मंसिर २३ गतेदेखि जनकपुरधाममा सुरु हुने भएको छ।
श्री जानकी मन्दिर तथा विवाह पञ्चमी महामहोत्सव मूल समारोह समितिको आयोजनामा मंसिर २३ देखि २९ गतेसम्म साताव्यापी रूपमा महोत्सव मनाउन लागिएको हो। महोत्सवका अवसरमा जनकपुरधाममा विभिन्न धार्मिक, सांस्कृतिक तथा परम्परागत कार्यक्रम आयोजना गरिनेछ।
महोत्सवअन्तर्गत नगर दर्शन, फूलबारी लीला, धनुष यज्ञ, तिलकोत्सव, मटकोर, स्वयंवर, शुभविवाह र रामकलेवा लगायतका कार्यक्रम समावेश गरिएको छ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले विवाह पञ्चमी जनकपुरधामको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचान बोकेको महत्वपूर्ण उत्सव भएको बताए। उनले भगवान् राम र माता सीताको विवाहोत्सवमा सहभागी हुन नेपाल तथा भारतसहित विभिन्न देशका श्रद्धालुलाई आमन्त्रण गरेका छन्।
उनले महोत्सवलाई व्यवस्थित, सभ्य र भव्य रूपमा सम्पन्न गर्न स्थानीयवासी, व्यवसायी, सामाजिक संघसंस्था तथा सरोकारवाला सबै पक्षको सहयोग आवश्यक रहेको बताए। साथै, महोत्सवमा आउने साधुसन्त, महन्थ तथा श्रद्धालुहरूको स्वागत र सेवामा जनकपुरधामवासीलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेका छन्।
विवाह पञ्चमी महोत्सवको कार्यक्रम तालिका
सात दिनका मुख्य धार्मिक कार्यक्रम
-
मंसिर २३ गते, बुधबार
अपराह्न ५ बजेजानकी मन्दिर प्राङ्गणबाट नगर दर्शन कार्यक्रम सुरु।
-
मंसिर २४ गते, बिहीबार
फूलबारी लीला कार्यक्रम आयोजना।
-
मंसिर २५ गते, शुक्रबार
बाह्रबिघा मैदानमा धनुष यज्ञ। यसै दिन सीताराम गौशालाबाट १११ मिटर लामो चुनरी जानकी मन्दिरमा चढाइने।
-
मंसिर २६ गते, शनिबार
तिलकोत्सव कार्यक्रम आयोजना।
-
मंसिर २७ गते, आइतबार
गंगासागरमा मटकोर कार्यक्रम।
-
मंसिर २८ गते, सोमबार
मुख्य विवाह पञ्चमी-
रंगभूमि मैदानमा स्वयंवर कार्यक्रम।
-
साँझ ६ बजेदेखि जानकी मन्दिर प्राङ्गणमा राम–सीताको शुभविवाह।
-
-
मंसिर २९ गते, मंगलबार
रामकलेवा कार्यक्रमसँगै साताव्यापी महोत्सवको समापन।
थप आकर्षण
– मंसिर २३ देखि २८ गतेसम्म जानकी मन्दिर प्राङ्गणमा रामलीला प्रदर्शन।
विवाह पञ्चमीअघि श्रीमद्भागवत महायज्ञ
विवाह पञ्चमी महामहोत्सवको तयारीस्वरूप मंसिर १६ देखि २२ गतेसम्म जानकी मन्दिर प्राङ्गणमा श्रीमद्भागवत महायज्ञसमेत आयोजना गरिने भएको छ।
बालव्यास पूज्य हरिशरण जी महाराजको मुखारविन्दबाट हुने भागवत कथा वाचन प्रत्येक दिन अपराह्न ३ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
यस वर्षको विवाह पञ्चमीमा नेपालका विभिन्न जिल्ला तथा भारतको अयोध्यासहित अन्य धार्मिक क्षेत्रबाट साधुसन्त, महन्थ, श्रद्धालु तथा पर्यटकहरू जनकपुरधाम आउने अपेक्षा गरिएको छ।
भगवान् श्रीराम र माता सीताको विवाहको प्रतीकात्मक उत्सवका रूपमा मनाइने विवाह पञ्चमीले धार्मिक आस्था र परम्परालाई निरन्तरता दिनुका साथै मिथिलाको कला, संस्कृति र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।














