जनकपुर, ६ मंसिर । धनुषाको महेन्द्रनगरमा आयोजना गरिएको निःशुल्क आँखा परीक्षण तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ। युवा नेता आशिष कुमार साहको आयोजनामा क्षीरेश्वरनाथ नगरपालिका–स्थित श्री क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरिएको थियो।
आर्थिक अभाव तथा विभिन्न कारणले आँखाको उपचार गराउन नसकेका ज्येष्ठ नागरिक, विपन्न परिवार तथा सर्वसाधारणलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजक साहले जानकारी दिएका छन्।
शिविरमा क्षीरेश्वरनाथ नगरपालिका लगायत आसपासका विभिन्न स्थानीय तहबाट समेत सर्वसाधारणले सहभागिता जनाई निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा लिएका थिए। शिविरमार्फत कुल ६४५ जनाले आँखा परीक्षण तथा स्वास्थ्य सेवा लिएको आयोजकले जनाएको छ।
आँखा परीक्षणका क्रममा १४५ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको छ। मोतियाबिन्दु देखिएका बिरामीहरूको थप उपचारका लागि आगामी भोलि र पर्सि श्री जानकी आँखा अस्पताल, जनकपुरमा निःशुल्क शल्यक्रिया गरिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।
शिविरमा प्राविधिक तथा स्वास्थ्य सेवासम्बन्धी सहयोग श्री जानकी आँखा अस्पताल, जनकपुरले गरेको थियो। अस्पतालका स्वास्थ्यकर्मी तथा प्राविधिक टोलीले सहभागीहरूको आँखा परीक्षण गरी आवश्यक परामर्श र उपचार प्रक्रिया अघि बढाएका थिए।
स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरबाट विशेषगरी आर्थिक रूपमा कमजोर तथा ज्येष्ठ नागरिक लाभान्वित भएका छन्। आँखाको समस्याबाट पीडित व्यक्तिहरूलाई समयमै उपचारको पहुँचमा पुर्याउन यस्ता निःशुल्क स्वास्थ्य शिविरले सहयोग पुग्ने आयोजकको विश्वास छ।














