काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन्। उनी नेपाल एयरलाइन्सको नियमित उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत गएका हुन्।
प्रधानमन्त्री शाहलाई बिदाइ गर्न ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल विमानस्थल पुगेका थिए।
भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका सल्लाहकार, उच्च सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार सहभागी छन्। त्यस्तै, निजी क्षेत्रका ५२ जना व्यवसायी आफ्नै खर्चमा भ्रमणमा सहभागी भएका छन्।
नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता अम्बिका जोशीका अनुसार प्रधानमन्त्री शाहलाई भारतीय उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ।
सोमबार प्रधानमन्त्री शाहले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्। त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। दुवै प्रधानमन्त्रीबीच छुट्टै भेटवार्ता गर्ने तयारीसमेत रहेको छ।














