नयाँ दिल्ली, ६ मंसिर । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता भइरहेको छ।
नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध तथा सहकार्यका विषयमा छलफल भइरहेको छ। जयशंकरसँगको भेटपछि प्रधानमन्त्री शाह नेपाल–भारत बिजनेस फोरमको रात्रिभोज कार्यक्रममा सहभागी हुनेछन्।
भ्रमणको दोस्रो दिन मंसिर ७ गते प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। त्यसअघि उनले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्।
मोदीसँगको भेटमा व्यापार, पारवहन, ऊर्जा, लगानी, पूर्वाधार विकास तथा दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल हुनेछ। साथै विभिन्न परियोजनाको उद्घाटन, शिलान्यास तथा शिक्षा, स्वास्थ्य, कृषि र विपद् व्यवस्थापनलगायत क्षेत्रमा समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ।
कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहले मंसिर ७ गते भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेटवार्ता गर्नेछन्। त्यसपछि उनी साँझ नेपाल फर्किने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसहित सरकारी अधिकारी, व्यवसायी र पत्रकार गरी ३४ सदस्य सहभागी छन्। निजी क्षेत्रका ५२ जना व्यवसायी पनि आफ्नै खर्चमा भ्रमणमा सहभागी भएका छन्।














