सप्तरी, ६ मंसिर । राष्ट्रिय एकता, सामाजिक सद्भाव र सर्वसाधारणका समस्या संकलन गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको ६० दिने ‘मेची–महाकाली पदयात्रा’ मधेस प्रदेश प्रवेश गरेको छ।
रास्वपा नेता तथा प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहको नेतृत्वमा रहेको पदयात्रा टोली छैटौँ दिन आइतबार कोशी प्रदेशको यात्रा पूरा गर्दै सप्तरी प्रवेश गरेको हो। टोलीलाई भारदहस्थित कंकालिनी मन्दिर र हनुमाननगर क्षेत्रमा स्थानीय नेता तथा सर्वसाधारणले स्वागत गरेका छन्।
सप्तरी प्रवेशका क्रममा डा. सिंहलाई कञ्चनरुप नगरपालिका तथा सप्तरी क्षेत्र नम्बर १ का नेता–कार्यकर्ताले २५ किलोको माला लगाएर सम्मान गरेका थिए।
हनुमाननगरमा आयोजित कार्यक्रममा रास्वपा मधेस प्रदेश सभापति तथा सांसद तपेश्वर यादवले पदयात्राको सफलताको शुभकामना दिँदै हुलाकी राजमार्ग आसपासका सबै जिल्ला तथा पालिका संगठनलाई अभियान सफल बनाउन सक्रिय हुन निर्देशन दिएका छन्।
यसैबीच, कंकालिनी मन्दिर परिसरमा सुनसरीका पदयात्रा प्रतिनिधिले सप्तरीका नेता तथा कार्यकर्तालाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेका थिए। पदयात्राका क्रममा किसान, मजदुर, व्यापारी तथा सर्वसाधारणका समस्या र सुझावसमेत संकलन गरिएको छ।
टोली आइतबार राति सप्तरी सदरमुकाम राजविराजमा बस्ने कार्यक्रम रहेको छ।
गत कात्तिक ३० गते जनकपुरधामस्थित जानकी मन्दिरबाट रास्वपा सभापति रवि लामिछानेले उद्घाटन गरेको यो अभियान हुलाकी राजमार्ग हुँदै २१ जिल्ला पार गरी करिब १ हजार २०० किलोमिटर यात्रा गरेर कञ्चनपुरको महाकालीमा पुगेर सम्पन्न हुनेछ।














