जनकपुर, १ मंसिर । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
मंगलबार दिउँसो जनकपुरबाट काठमाडौंका लागि छुटेको मधेश प्रदेश ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा माइक्रोबसमा सवार सबै १४ जना घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल पठाइएको छ।
प्रहरीका अनुसार घाइतेमध्ये नौ जनाको पहिचान खुलेको छ भने अन्य पाँच जनाको विवरण संकलन भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धानसमेत भइरहेको प्रहरीले जनाएको छ।
घाइते हुनेमा माइक्रोबस चालक धनुषाको शहीदनगर नगरपालिका–८ का दीपक कुमार दास, शहीदनगर–७ की १७ वर्षीया रानी कुमारी मण्डल तथा शहीदनगर–२ का १४ वर्षीय पियुष गोहित, १५ वर्षीय आयुष गोहित र १२ वर्षीया रुबी गोहित रहेका छन्।
त्यस्तै, ललितपुरको भैँसेपाटीकी ३६ वर्षीया प्रियाङ्का साह र उनका छोरीहरू १६ वर्षीया जेनी साह, ११ वर्षीया सफलता साह तथा ३ वर्षीया ओमी साह पनि घाइते भएका छन्।














