जनकपुर, २८ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन शनिबार जनकपुरधाम आइपुगेका छन्।
मौसम प्रतिकूलताका कारण निर्धारित समयभन्दा साढे तीन घण्टा ढिलो अपराह्न ४ बजे उनी जनकपुर विमानस्थलमा अवतरण गरेका हुन्। विमानस्थलमा रास्वपाका नेता तथा कार्यकर्ताले बाजागाजासहित उनको स्वागत गरेका थिए।
पत्नी निकिता लामिछानेसहित जनकपुर आएका लामिछानेले विश्वभर चर्चित जनकपुरको छठ पर्वमा सहभागी हुन पाउँदा खुसी र गौरव महसुस भएको प्रतिक्रिया दिए।
उनी तीन दिनसम्म धनुषामा रहने र यस अवधिमा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।














