काठमाडौं, २८ कात्तिक । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारीमा गम्भीरतापूर्वक जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
एमाले वाग्मती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले स्थानीय तहको निर्वाचनलाई राष्ट्रियसभा निर्वाचनसँग समेत जोडेर हेर्नुपर्ने बताए। स्थानीय तहका प्रमुख तथा उपप्रमुख राष्ट्रियसभा निर्वाचनका मतदाता हुने भएकाले यसको परिणाम राष्ट्रिय राजनीतिका लागि पनि महत्वपूर्ण रहेको उनको भनाइ थियो।
प्रदेशसभा निर्वाचनले प्रदेश सरकार गठनसँगै राष्ट्रपति निर्वाचनका लागि मतदाता चयन गर्ने भएकाले सबै निर्वाचनलाई रणनीतिक रूपमा लिनुपर्ने उनले बताए। साथै, पार्टीभित्र एकता कायम गर्दै स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर संगठन विस्तार गर्न कार्यकर्तालाई आग्रह गरे।
ओलीले गत फागुनमा भएको निर्वाचनप्रति असन्तुष्टि जनाउँदै भदौ २३ र २४ गतेका घटनालाई वैधानिकता दिन राज्यशक्तिको दुरुपयोग गरिएको आरोपसमेत लगाए।














