भक्तपुर, २४ कार्तिक । सभामुख डोलप्रसाद अर्यालले व्यक्तिगत स्वार्थ त्यागेर देश र जनताको हितलाई प्राथमिकतामा राख्दै सार्वजनिक जिम्मेवारी पूरा गर्न सबैलाई आग्रह गरेका छन् ।
नेपाल संवत् ११४७ को अवसरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण कार्यक्रममा बोल्दै उनले साख्वाःको योगदानबाट प्रेरणा लिनुपर्ने बताए ।
उनले नेपाल संवत् केवल पात्रो वा समय गणनाको माध्यम नभई नेपालको इतिहास, सभ्यता, संस्कृति र राष्ट्रिय पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा भएको उल्लेख गरे । आफ्नो निजी सम्पत्ति जनताको ऋणमुक्तिका लागि समर्पण गरेका साख्वाःको योगदान सामाजिक न्याय र लोककल्याणको उत्कृष्ट उदाहरण भएको उनको भनाइ थियो ।
सभामुख अर्यालले नेपाल संवत्लाई सरकारी कामकाजमा मात्र सीमित नराखी शिक्षा र डिजिटल प्रणालीमा समेत विस्तार गर्न आवश्यक नीति, बजेट तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । साथै इतिहास र संस्कृतिको संरक्षण, सार्वजनिक जीवनमा इमानदारिता तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।
कार्यक्रममा वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि प्रदेश सरकारले बजेट व्यवस्था गरेको जानकारी दिए । शङ्खधर साख्वाःको योगदानलाई जनस्तरसम्म पुर्याउन प्रदेशका सबै जिल्लामा प्रतिष्ठान स्थापना गर्ने योजना रहेको उनले बताए ।
मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले शङ्खधर साख्वाःको नाममा सङ्ग्रहालय निर्माणको काम अघि बढाइएको जानकारी दिँदै उनको ऐतिहासिक योगदानको प्रचारप्रसारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने बताए ।
कार्यक्रममा सभामुख अर्याल, गृहमन्त्री सुदन गुरुङ, मुख्यमन्त्री थापामगरलगायतका अतिथिले शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण गरेका थिए ।
सो अवसरमा इतिहासकार हरिराम जोशीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गर्ने एक लाख ११ हजार १११ रुपैयाँको पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै, प्रतिष्ठानको संस्थागत पुरस्कार चरिकोटस्थित शङ्खधर साख्वाः निर्माण समितिलाई प्रदान गरियो ।
कार्यक्रममा प्रतिष्ठानद्वारा प्रकाशित स्मारिका विमोचन गर्नुका साथै विभिन्न सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो ।














