काठमाडौँ, २३ कार्तिक । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले जलवायु परिवर्तनसम्बन्धी विषयमा विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समेटिएका छन्।
अन्तर्राष्ट्रिय म्यागजिन टाइम ले सार्वजनिक गरेको यस वर्षको प्रभावशाली व्यक्तिको सूचीमा वाग्लेलाई पनि स्थान दिएको हो।
भोटेकोसी बाढीपछि जलवायु न्यायका पक्षमा अन्तर्राष्ट्रिय मञ्चमा गरेको पैरवी, जलवायु वित्त परिचालन तथा स्रोत व्यवस्थापनका लागि देखाएको पहल र अन्तर्राष्ट्रिय प्रणालीमा सुधारसम्बन्धी धारणा राखेको विषयलाई उनको छनोटको आधार बनाइएको जनाइएको छ।
विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको अध्ययन, नीति निर्माण र राजनीतिक क्षेत्रमा सक्रिय वाग्ले विश्वस्तरका प्रभावशाली व्यक्तिको सूचीमा परेका हुन्।
टाइमको उक्त सूचीमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, बेलायती राजकुमार विलियम र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयनलगायतका व्यक्तिहरू पनि समावेश छन्।














