काठमाडौं, २३ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपाली समाजमा आपसी एकता, सद्भाव र सांस्कृतिक विविधतालाई बलियो बनाउने बताएका छन् ।
तिहार २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले तिहारलाई उज्यालो र प्रकाशको पर्वका रूपमा व्याख्या गरेका छन् । उनले यस पर्वले प्रेम, करुणा, सामाजिक एकता र अन्धकारमाथि प्रकाशको विजयको सन्देश दिने उल्लेख गरेका छन् ।
काग, कुकुर, गाई, गोरु तथा गोवर्द्धन पर्वतको पूजा र भाइटीकाजस्ता परम्पराले मानव, प्रकृति र जीवजन्तुबीचको सम्बन्धलाई प्रगाढ बनाउने उनको भनाइ छ ।
राष्ट्रपति पौडेलले तिहारले नेपालीबीच भ्रातृत्व, सहिष्णुता, सद्भाव र समृद्धिको भावना अभिवृद्धि गर्दै सबैलाई सत्य र न्यायको मार्गमा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । साथै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना दिएका छन् ।














