जनकपुर, २२ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनुषा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य राजकिशोर महतोले दीपावली, तिहार तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
सांसद महतोले दीपावलीको पावन अवसरमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र सफलताको उज्यालो छाओस् भन्ने कामना गरेका छन्। उनले चाडपर्वले समाजमा आपसी प्रेम, सद्भाव, भाइचारा र एकताको भावना थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
उनका अनुसार नेपाली समाज विविध जातजाति, भाषा, धर्म र संस्कृतिले सम्पन्न रहेको छ। यस्ता सांस्कृतिक तथा धार्मिक पर्वहरूले सामाजिक विविधताबीच एकता कायम राख्दै आपसी सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।
उनले दीपावलीलाई उज्यालो, आशा र सकारात्मक परिवर्तनको प्रतीकका रूपमा उल्लेख गर्दै प्रत्येक नागरिकको घरपरिवारमा खुसी र उमंग छाओस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।
सांसद महतोले चाडपर्वलाई सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन आग्रह गर्दै आपसी सद्भाव कायम राख्न तथा एकअर्काको संस्कृति र परम्पराको सम्मान गर्नसमेत सबैमा अनुरोध गरेका छन्।
अन्त्यमा उनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकको जीवनमा नयाँ उत्साह, ऊर्जा र प्रगतिको सञ्चार होस् भन्दै दीपावली, तिहार तथा छठ पर्वको अवसरमा मंगलमय शुभकामना व्यक्त गरेका छन्।














