काठमाडौं, २१ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन विद्युत्को अधिकतम माग करिब १ हजार ७ सय मेगावाट पुग्ने अनुमान गरेको छ। उक्त माग आन्तरिक उत्पादनबाटै सहज रूपमा धान्न सकिने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार लक्ष्मीपूजाका दिन करिब २ हजार ५ सय मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण छ। मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत् अभाव नहुने उनको भनाइ छ।
तिहार तथा छठ पर्वमा नियमित र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन प्राधिकरणले विशेष तयारी गरेको छ। सम्भावित अवरोध हटाउन प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्नुका साथै प्रसारण तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भार गर्न निर्देशन दिइएको छ।
त्यस्तै, विद्युत् सम्बन्धी गुनासो तत्काल समाधान गर्न नो लाइट सेवामा प्राप्त फोन नियमित उठाउन र उपभोक्ताका समस्या छिटो सम्बोधन गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।














