काठमाडौं, १८ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारको पछिल्लो कार्यशैली, प्रेस स्वतन्त्रता माथिको दबाब र प्रहरी महानिरीक्षक (आईजीपी) हटाउने निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।
पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले सिंहदरबार र बालुवाटारमा रमिता भइरहेको टिप्पणी गर्दै सरकारले जनमतको अपमान गरेको आरोप लगाए ।
उनले सञ्चारमाध्यम माथि दबाब दिने र पत्रकारलाई धम्क्याउने कार्य लोकतान्त्रिक मूल्यविपरीत भएको बताए । राष्ट्रिय प्राथमिकताका विषयमा ध्यान दिनुको सट्टा सरकार प्रहरी नेतृत्व परिवर्तनमा केन्द्रित भएको उनको आरोप छ ।
बिचौलियाको मोबाइल नियन्त्रणमा लिएको घटनाबारे प्रश्न उठाउँदै उनले अनुसन्धानका प्रमाण नष्ट गर्ने प्रयास भएको आशंका व्यक्त गरे । सार्वजनिक अडियो प्रकरणमा निष्पक्ष छानबिन भए कांग्रेस सामना गर्न तयार रहेको पनि उनले बताए ।
सरकारलाई पाँच वर्ष काम गर्न कांग्रेसको सहयोग रहने उल्लेख गर्दै शर्माले गलत कार्यशैली सच्याउन चेतावनी दिए ।














