काठमाडौँ, १५ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ।
जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३८ रन मात्रै बनाउन सक्यो। पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाउँदा विपिन आचार्यले २०, विपिन खत्रीले १७ र किरण ठगुन्नाले १५ रन जोडे।
जनकपुरका मोइन अलीले तीन विकेट लिए भने सैफ हसन र हरमीत सिंहले दुई-दुई विकेट हात पारे। ललित राजवंशी र जिमी निशमले एक-एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेटको क्षतिमा १४७ रन बनाएको थियो। उसका लागि तृतराज दासले ६१ रनको अर्धशतकीय इनिङ्स खेले। अभिषेक तिवारीले अविजित २४ र मोइन अलीले २१ रनको योगदान दिए।
पोखराका शकिब अल हसनले तीन तथा चमिका करुणारत्नेले दुई विकेट लिए।
यस जितसँगै जनकपुरले एनपीएलमा दोस्रो सफलता हात पारेको छ। यसअघि पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाण्डु गोर्खाजलाई ८ विकेटले हराएको थियो। यता पोखरा भने लगातार दोस्रो हार बेहोर्न बाध्य भएको छ।














