जनकपुर, १४ कात्तिक । धनुषाको नगराइन नगरपालिका–७ देवडिहाबाट १० दिनदेखि बेपत्ता रहेका ७ वर्षीय बालक साकेत झा मृत अवस्थामा फेला परेका छन्।
अजय झाका छोरा साकेतको शव घरदेखि करिब अढाई किलोमिटर उत्तरतर्फ रहेको धानखेतमा फेला परेको धनुषा प्रहरीले जनाएको छ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार बालकको शव फेला परेपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक आशंकाअनुसार बालकको हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ।
गत कात्तिक ४ गते दशैंको टीकाका दिन घरबाट निस्किएका साकेत त्यसपछि सम्पर्कविहीन भएका थिए। बालक बेपत्ता भएपछि परिवार, स्थानीयवासी र प्रहरीले निरन्तर खोजी गरेका थिए। आसपासका गाउँ, पोखरी तथा झाडी क्षेत्रमा समेत खोजतलास गर्दा उनी फेला परेका थिएनन्।
बालकको शव भेटिएपछि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृत्युको वास्तविक कारण भने अनुसन्धानपछि मात्रै खुल्नेछ।














