जनकपुर, १४ कात्तिक । बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनको विषयलाई लिएर भएको झडप र आगजनीपछि अवस्था तनावपूर्ण बनेको छ । स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाउने तयारी गरेको छ ।
अस्पतालमा आवश्यक पूर्वाधार, जनशक्ति र सेवा–सुविधा नपुगेको भन्दै स्थानीयले उद्घाटनको विरोध गरेपछि दुई पक्षबीच विवाद भएको थियो । विवादका क्रममा गोली चल्दा १७ वर्षीय आदित्य पासवान गम्भीर घाइते भएका छन् । उनको वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको छ ।
झडपका क्रममा प्रहरीले लाठीचार्ज गरेको स्थानीयको आरोप छ भने करिब एक दर्जन सवारीसाधनमा आगजनी भएको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले बताएका छन् ।
रास्वपा सांसद समीक्षा बास्कोटा प्रमुख अतिथि रहने गरी तय भएको अस्पताल उद्घाटन कार्यक्रमसमेत विवादका कारण रोकिएको थियो । प्रशासनले घटनास्थलमा थप सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ ।














