काठमाडौं, १३ कात्तिक । समाचार लेखेकै आधारमा पत्रकारहरूलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आपत्ति जनाएको छ।
रास्वपाले पत्रकारमाथिको धरपकड प्रेस स्वतन्त्रता र विधिको शासनविपरीत रहेको भन्दै पक्राउ परेका सञ्चारकर्मीलाई तत्काल बिनासर्त रिहा गर्न माग गरेको छ।
पार्टी प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा समाचारप्रति कुनै गुनासो वा कानुनी प्रश्न भए स्थापित कानुनी प्रक्रिया र सम्बन्धित निकायमार्फत समाधान खोज्नुपर्ने उल्लेख छ। कानुनी प्रक्रियालाई बेवास्ता गर्दै पत्रकारलाई नियन्त्रणमा लिनु न्यायोचित नहुने पार्टीको भनाइ छ।
रास्वपाले प्रेस स्वतन्त्रता माथिको हस्तक्षेपले नागरिकको सूचनाको हकसमेत प्रभावित हुने जनाएको छ। साथै, पत्रकारको समाचार स्रोत गोप्य राख्ने अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिएको छ।
पत्रकार पक्राउ तथा अन्य सञ्चारकर्मीको खोजी भइरहेको घटनाबारे निष्पक्ष र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गर्दै रास्वपाले सञ्चारकर्मीको सुरक्षा र स्वतन्त्र पत्रकारिताको पक्षमा आफ्नो समर्थन रहने जनाएको छ।














