काठमाडौं, १३ कात्तिक । प्रहरीले अनलाइन सञ्चारमाध्यम डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेतलाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
डीएनए खबरको वेबसाइट तथा युट्युब च्यानलमा इनम सापकोटा र न्यायाधीश हरि फुयाँलबीचको संवाद तथा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई सरकारले हटाउन खोजेको विषयसम्बन्धी सामग्री प्रकाशित भएपछि उनलाई पक्राउ गरिएको बताइएको छ।
हाल बस्नेतलाई उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ।
यसअघि प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्युजका प्रधानसम्पादक शोभराज बराललाई पनि पक्राउ गरिसकेको छ। त्यस्तै, दियो पोस्टका प्रधानसम्पादक सुदीप विश्वकर्मा र नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीबारे पनि प्रहरीले खोजी गरिरहेको समाचारमा उल्लेख छ।














