काठमाडौं, १३ कात्तिक । प्रहरीले समाचार कक्षमै प्रवेश गरेर नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ।
सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्दै आएका सुवेदीलाई सादा पोशाकमा आएका तीन जना प्रहरीले कार्यालय भित्रैबाट पक्राउ गरेका हुन्। उनीहरू प्रहरीको गाडीमा कार्यालय पुगेका थिए।
नेपाल प्रेसका पत्रकार राजाराम न्यौपानेका अनुसार प्रहरीले सुवेदीलाई नियन्त्रणमा लिनुअघि पक्राउ पुर्जी देखाएको थिएन। आफूहरू अपराध अनुसन्धानबाट आएको र प्रहरी महानिरीक्षकको आदेश रहेको भन्दै उनलाई आफूसँग जान आग्रह गरिएको थियो।
प्रहरी स्रोतका अनुसार प्रहरी महानिरीक्षकमाथि राजीनामाको दबाब परेको विषयमा नेपाल प्रेसमा प्रकाशित समाचारको स्रोत खोज्ने क्रममा साइबर ब्युरोको आग्रहमा उनलाई नियन्त्रणमा लिइएको हो।
सुवेदीलाई अपराध अनुसन्धान कार्यालयले साइबर ब्युरोमा बुझाउने तयारी गरेको स्रोतले जनाएको छ। यद्यपि प्रहरीले उनको पक्राउबारे औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन।














