काठमाडौं, १३ कात्तिक । चक्रवात ‘अर्नब’को प्रभावले आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।
महाशाखाले आजदेखि शनिबारसम्म देशका अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
पश्चिम मध्य बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेपछि क्रमशः कमजोर हुँदै अघि बढिरहेको छ। यसको प्रभावले नेपालमा पनि बदली, वर्षा र हिमपातको सम्भावना बढेको हो।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान तथा त्यहाँ रहेकालाई सुरक्षित स्थानमा बस्न महाशाखाले सुझाव दिएको छ।
त्यस्तै, धानबाली भित्र्याउने लगायतका कृषि कार्य शनिबारसम्म नगर्न आग्रह गरिएको छ। वर्षाका कारण पहिरो, सडक तथा हवाई यातायातमा अवरोध र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी अपनाउन पनि विभागले अनुरोध गरेको छ।














