काठमाडौं, ११ कात्तिक । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन निर्वाचन आयोगसँग माग गरेको छ।
बुधबार आयोगलाई ज्ञापनपत्र बुझाउँदै पार्टी अध्यक्ष घिसिङले स्थानीय तहको निर्वाचनमा दलीय प्रभाव घटाई योग्यता, इमानदारी र कार्यसम्पादनका आधारमा नेतृत्व चयन गर्ने व्यवस्था गर्नुपर्ने बताए।
उनका अनुसार दलीय प्रतिस्पर्धाका कारण स्थानीय मुद्दा ओझेलमा पर्ने, राजनीतिक ध्रुवीकरण बढ्ने र निर्वाचनमा आर्थिक चलखेल हुने समस्या देखिएकाले गैरदलीय प्रणाली आवश्यक छ।
त्यस्तै, वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसायका लागि विदेशमा रहेका नेपालीलाई आफ्नो स्थायी ठेगाना भएको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन पनि उनले आग्रह गरे।
घिसिङले विदेशमा रहेका नेपालीका लागि मतदाता नामावली अद्यावधिक, सुरक्षित मतदान प्रणाली तथा आवश्यक कानुनी र प्राविधिक तयारी गर्न आयोगको ध्यानाकर्षण गराए। साथै, आगामी निर्वाचनअघि नै यी माग कार्यान्वयनका लागि समयबद्ध कार्ययोजना सार्वजनिक गर्न उनले आग्रह गरे।














