काठमाडौं, ९ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चारदिने चीन भ्रमण पूरा गरी सोमबार स्वदेश फर्किएकी छन्। उनी चीनको स्योङआनमा आयोजित ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी हुन बिहीबार चीन गएकी थिइन्।
अक्टोबर २३ देखि २५ सम्म आयोजित सम्मेलनमा विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्दै भण्डारीले जलवायु परिवर्तन, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर सुरक्षालगायतका विषयमा धारणा राखेकी थिइन्।
उनले नेपालमा हालै भएका प्राकृतिक विपद्ले जलवायु परिवर्तनको असर गम्भीर रहेको देखाएको उल्लेख गर्दै जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरिन्।
हिमाली क्षेत्रको संरक्षण, हिमनदीको अनुगमन, मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान तथा विपद् पूर्वसूचना प्रणालीमा नेपाल, चीन र भारतलगायतका देशबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। साथै, उनले अन्तर्राष्ट्रिय कानुनको सम्मान र संयुक्त राष्ट्रसङ्घलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी थिइन्।














