जनकपुर, ८ कात्तिक । नेपालीहरूको महान् चाड बडादसैंको समापनका रूपमा आज कोजाग्रत पूर्णिमा मनाइँदै छ। यस अवसरमा महालक्ष्मीको पूजा–आराधना गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा छ।
धार्मिक विश्वासअनुसार कोजाग्रत पूर्णिमाको रात जाग्राम बसेर महालक्ष्मीको पूजा गरे घरमा सुख, समृद्धि र धनधान्य प्राप्त हुन्छ। विजयादशमीदेखि सुरु भएको दसैंको टीका र जमरा लगाउने क्रम पनि आजै समाप्त हुन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बेलुकीसम्म देवीको प्रसादस्वरूप टीका र जमरा लगाउन सकिनेछ। बिहान दसैंघरका फूलप्रसाद र जमराका अवशेष नदी, तलाउ तथा अन्य तीर्थस्थलमा विसर्जन गर्ने चलन छ।
कोजाग्रत पूर्णिमापछि भोलिदेखि कात्तिक स्नान र आकाशदीप दान गर्ने परम्परा सुरु हुन्छ। साथै, घरघरमा तुलसी पूजा गर्ने धार्मिक विधि पनि आजदेखि प्रारम्भ हुने मान्यता छ।














