जाजरकोट, २९ असोज। जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनीचाँदे जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भई करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
दुर्घटनामा जिप चालक २० वर्षीय सान्तबहादुर बस्नेत र ३० वर्षीया बिपना भण्डारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए।
दुर्घटनामा दिलबहादुर भण्डारी, उनका चार वर्षीय छोरा शिशिर भण्डारी र ५० वर्षीया सितला टमटा घाइते भएका छन्।
तीनै जनाको अवस्था मध्यम रहेको र थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














