काठमाडौं, २८ असोज । नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र बनाएको छ।
भेलालाई व्यवस्थित बनाउन पार्टीले बुधबार पहिलो तयारी बैठकसमेत गरेको छ। उपमहासचिव लेखराज भट्टका अनुसार पार्टीका नीति, पारित दस्तावेज र समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न भेला आयोजना गर्न लागिएको हो।
संगठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार मंसिर २ गते बिहान ११ बजेदेखि सुरु हुने भेला भोलिपल्ट साँझसम्म सञ्चालन हुनेछ। भेलामा केन्द्रीय कमिटी, प्रदेश, जिल्ला, स्थानीय तह, जनसंगठन तथा विभिन्न तहका जनप्रतिनिधिसहित ३ हजार १६४ जना सहभागी हुनेछन्।
सहभागीमध्ये ३४६ जना केन्द्रीय सदस्य, ८१ जना केन्द्रीय निकायका सदस्य, प्रदेश तथा प्रवासका ५५ जना, जिल्ला तहका ४४० जना र पालिका तहका १ हजार ५०६ जना रहनेछन्। भेला मुख्यतः अभिमुखीकरणमा केन्द्रित हुने एमालेले जनाएको छ।














