जनकपुर, २१ असोज । मधेस प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रदेशको शिक्षा क्षेत्रका समस्या पहिचान गरी समाधानका उपायसहित मन्त्रालयमा प्रतिवेदन बुझाउन राजर्षि जनक विश्व विद्यालयलाई निर्देशन दिएका छन्।
बुधबार धनुषामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले शिक्षा ऐन निर्माणको प्रक्रिया अघि बढिरहेको भन्दै विश्व विद्यालयलाई अध्ययन तथा अनुसन्धानमार्फत मधेसको शैक्षिक अवस्था सुधारका लागि काम गर्न आग्रह गरे।
उनले विश्वविद्यालय पढाइमा मात्र सीमित नभई शिक्षा क्षेत्रका समस्या, सम्भावना र सुधारका उपाय पहिचानमा पनि सक्रिय हुनुपर्ने बताए। मधेसका विद्यार्थी उच्च शिक्षाका लागि काठमाडौं जानुपर्ने अवस्था अन्त्य गर्न प्रदेशमै गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो।
मन्त्री पोखरेलले राजर्षि जनक विश्व विद्यालयलाई अन्य विश्वविद्यालयको स्तरमा पुर्याउन थप मेहनत आवश्यक रहेको बताउँदै उपलब्ध स्रोत र क्षमताको प्रभावकारी उपयोग गर्न आग्रह गरे।














