काठमाडौं, २१ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले महिला उद्यमीलाई प्रविधि सहयोग उपलब्ध गराउने भएको छ।
कार्यविधिअनुसार एकल महिला उद्यमीलाई २ लाख रुपैयाँसम्म र महिला उद्यमी समूहलाई ३ लाख रुपैयाँसम्मको सहयोग दिइनेछ।
महिला उद्यमशीलता प्रवर्द्धन, उत्पादन तथा उत्पादकत्व वृद्धि र स्वरोजगार सिर्जना गर्ने उद्देश्यले मेसिन, औजार तथा उपकरण खरिदमा सहयोग उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।
कार्यक्रम प्रदेश र स्थानीय तहसँगको सहकार्यमा सञ्चालन हुनेछ। स्थानीय तहले सम्भावनायुक्त महिला उद्यमी तथा समूह छनोट गरी प्रदेशमा सिफारिस गर्नेछन्।
कृषि, पशुपालन, हस्तकला, पर्यटन, मिथिला कला, मौरी तथा माछापालन, होमस्टे र परम्परागत सीपमा आधारित उद्यमलाई प्राथमिकता दिइनेछ। आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायका महिला उद्यमीलाई विशेष प्राथमिकता दिने व्यवस्था गरिएको छ।














