काठमाडौं, २० असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत निर्वाचनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरिएको छ।
निर्वाचन समितिका अनुसार अब मतदाता प्रतिनिधिको संख्या ७ हजार ११४ पुगेको छ। निर्वाचन समितिले दाबी–विरोध तथा जाँचबुझको प्रक्रिया पूरा गरी अन्तिम नामावली प्रकाशन गरेको हो। आज उम्मेदवारी मनोनयन फारम वितरण तथा मनोनयन दर्ताको कार्यक्रमसमेत तय गरिएको छ।
कांग्रेसको बन्दसत्रले संशोधित विधान पारित गरेपछि अब २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन हुँदैछ। निर्वाचन असोज २१ र २२ गते गर्ने कार्यतालिका रहेको छ।
महाधिवेशन व्यवस्थापनका लागि दुई सयभन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ। प्रतिनिधिको सहजताका लागि बन्दसत्र तथा निर्वाचनस्थलमा स्वयंसेवक खटाइएको कांग्रेसले जनाएको छ।
महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका छन्।














